नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार १४४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र एक हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि भएको छैन ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ७४ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५६८ रहेको छ । जसमा ५४४ जना होम आइसोलेसनमा छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११ संक्रमित आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार ५९३ र एन्टिजेन विधिबाट १ लाख ४० हजार १५० जना पुगेको छ ।