नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।

आगामी स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले सर्कुलर जारी गरेको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनाव केन्द्रीत सर्कुलर जारी गरेका हुन् ।
सर्कुलरमा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ ।
नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिहरुले गर्नुपर्ने छ भने त्यस्तो सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने छ । र उक्त निर्णयलाई केन्द्रीय कार्यालयबाट अनुमोदन गराउनुपर्नेछ । त्यसैगरी वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नेछ ।
यस्तै प्रचण्डले प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने सर्कुलर जारी गरेका छन् । विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन् । माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको हो । त्यस्तै बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रको स्वीकृति बिना आफुखुशी गठबन्धन तोड्न नपाइने सर्कुलरमा स्पष्ट पारिएको छ ।

