राष्ट्रियसभाका मनोनीत सदस्य दाहालले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज(मंगलबार) राष्ट्रियसभा सदस्य दाहालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएका हुन्।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन् । शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए । अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए ।



शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम लगायतको उपस्थिति थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन् । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार