नवकान्तिपुर संवाददाता
काठमाडौं, १ वैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी हुन् ।
हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सन्देशमार्फत भनिएको छ ।
ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गरिनु हुँदैन । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गरेकी छिन् ।
प्रकृतिप्रदत्त स्रोतको दिगो व्यवस्थापन एवं उपयोगमार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयत्नशील हुनुपर्ने सन्देशमार्फत भनिएको छ । विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको हुनाले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी रहेको पनि राष्ट्रपति भण्डारीले भनिन्।
अन्त्यमा, नयाँ वर्ष २०७९ ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने सबैमा शुभकामना दिएकी छिन् ।
निर्वाचनमा सहभागी हुन उपराष्ट्रपति पुनको अपिल
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्छ । नववर्षको सुरुआतका अवसरमा आज शुभकामना सन्देश प्रवाह गर्दै उनले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गर्ने बताए ।
विक्रम संवत् २०७९ लाई निर्वाचन वर्षकारुपमा स्वागत गरिएको उल्लेख गर्दै उनले स्थानीय सरकार गठनका लागि वैशाख ३० गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण नेपालीलाई अपिल गरे । राष्ट्रको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताउँदै उपराष्ट्रपति पुनले त्यस ध्यान केन्द्रित गर्न आग्रह गरे ।
उनले देश विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिको कामनासमेत गरेका छन् ।
प्रधानमन्त्री देउवाबाट नयाँ वर्षको शुभकामना सन्देश

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँवर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरेका हुन् ।
मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वेपरी लक्ष्य रहेको भन्दै उनले यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचार र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने शुभकामना सन्देशमा भनिएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै जनताको विकास र समृद्धि को आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्ने अभियानमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।
नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताए ।
शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरू जनताको साथमा हुने बताएका छन् । ‘समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ’, उनले सन्देशमा भनेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जारी गरेको सन्देशमा आजसम्मका जनसङ्घर्ष जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा एवं विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणमार्फत समाजवादी आन्दोलन सफल बनाउन सम्पूर्ण देशवासीको निरन्तर साथ रहनेमा विश्वास व्यक्त गरे ।
‘बितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षका रुपमा स्मरणीय रहनेछ’, उनले भनेका छन्, ‘नयाँ वर्ष २०७९ को सुरुआतसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ ।’
संवैधानिक मूल्यमान्यता आत्मसात् गर्न सकौँ : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले नववर्ष २०७९ साल प्रारम्भका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले विक्रम संवत् २०७८ मा कैयौँ अप्ठ्यारा आए र तिनलाई हामीले सुझबुझपूर्ण ढङ्गले निकास दिँदै गएको उल्लेख गर्दै भविष्यका लागि आशावादी बनाएर २०७८ बिदा भएको शुभकामना सन्देशमा भनेका छन् ।
विसं २०७९ चुनावी वर्ष रहेकाले आम नागरिकका लागि आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गर्ने एवं राजनीतिक दलका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको वर्ष बन्ने विश्वास पनि शुभकामना सन्देशमार्फत सभामुख सापकोटाले बताएका छन् । आगामी दिनमा संविधानको कार्यान्वयन, परिवर्तित व्यवस्थाअनुरूप नागरिकले अनुभूत गर्ने तहमा जीवनस्तर परिवर्तनको दिशामा मुलुकलाई अगाडि बढाउन दलका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुने उनले विश्वास व्यक्त गरेका छन्।
लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा दिने विश्वास सभामुख सापकोटाको छ ।

