नवकान्तिपुर संवाददाता
काठमाडौं, २ वैशाख ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताएका छन् । आज (शुक्रबार) चैत २४ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले सातामा दुई दिन बिदा दिनेबारे सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका हुन् । सातामा दुई दिन बिदा दिन लागेको समाचार बाहिरिएसँगै यस विषयमा चर्चा चलेको थियो । मन्त्री कार्कीले सातामा दुई दिन बिदा दिने बहसको विषय भएको र यस विषयमा निर्णय नभएको धारणा व्यक्त गरे ।
‘सातामा दुई दिन बिदा दिने निर्णय भएको छैन। निर्णय भएको भए सार्वजनिक गरिन्थ्यो, सातामा दुई दिन बिदा दिने बहसको विषय छ। निर्णय नै नभएकोले यस विषयमा धेरै कुरा भन्न मिलेन’ मन्त्री कार्कीले भने । त्यस्तै संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गर्ने, विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियत ऋण साहयता स्वीकार गर्नेलगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।