अस्तित्व रक्षाको चिन्ता थपिएपछि अन्ततः एमालेले पनि गर्यो चुनावी तालमेल, के–के भयो सहमति ?

स्थानीय चुनावमा तालमेल नगरी बहुमत ल्याउने घोषणा गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अन्ततः चुनावी तालमेल गरेको छ । गत चैत ३० गते बुधबार नेकपा एमालले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका छन् भने नेपाल परिवार दलका अध्यक्षमा एकनाथ ढकाल रहेका छन् । गत बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा एमालेले दुई दलबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेको हो । त्यस्तै राप्रपा नेपाल र नेपाल परिवार दलका उम्मेदवारले पनि सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति जनाएका छन् ।

सत्ता गठबन्धनले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेपछि एमालेलाई अस्तित्व रक्षाको चिन्ता थपिएपछि चुनावी गठबन्धन गर्ने निर्णयमा पुगेको हो । यसअघि निर्वाचनको मिति घोषणा भएसँगै कुनै दलसँग पनि चुनावी तालमेल नगरी आफ्नो पार्टील्ऽे बहुमत प्राप्त गर्ने उद्घोष गरेका एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूले तालमेल गर्ने निर्णय गरेसँगै नेकपा एमालेलाई बहुमत प्राप्त गर्न त्यति सहज नहुने भन्दै तालमेल गर्ने रणनीतिमा पुगेका हुन् । जसरी पनि गठबन्धन फुटाएर निर्वाचनमा पहिलो दल बन्ने होडमा रहेको एमाले सो प्रयास असफल भएसँगै निर्वाचन रणनीति परिवर्तन गर्ने तयारी गरेको हो ।



एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । दुई दलबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो ।

एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठबीच पाँच बुँदे सहमति भएको हो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

एमाले र परिवार दलबीच चुनावी तालमेल
नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति भएको छ । एमालेको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा दुई दलबीच स्थानीय तहको चुनावमा तालमेल गरेर जाने सहमति भएको हो ।

एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच पाँच बुँदे सहमति भएको हो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

एमाले र दुई दलबीच यस्तो सहमति
एमाले र दुई दलबीचको सहमतिमा दुवै दलका उम्मेदवारले पनि सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । त्यस्तै देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने पनि सहमति भएको छ । यस्तै राप्रपा नेपालले उम्मेदवार नभएका ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने, नेकपा एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने त्यस्तै नेपाल परिवार दलको उम्मेदवार नभएका ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने र नेकपा एमालेले परिवार दलका उम्मेदवारलाई सघाउने, चुनावअघि सहमति गरी साझा चिन्ह लिनसकिने र जितेपछि आफ्नै दलमा रहन पाउने कानुनी व्यवस्था रहेको लगायतका सहमति भएको छ ।

एमालेसँग तालमेल गरेपछि के भने कमल थापाले ?
राष्ट्रियता, आर्थिक समृद्धि र स्थिरताको कारण आफूले एमालेसँग चुनावी गठबन्धन गरेको बताएका छन् । उनले आगामी चुनावमा विभिन्न दलहरू चुनावी तालमेल गरेर जाने भएपछि चुनावमा एक्लै जानुमा बुद्धिमानी नरहेको भन्दै एमालेसँग चुनावी तालमेल गर्दै सूर्य चिन्ह लिएर चुनावमा जाने बताए ।

‘स्थानीय चुनावमा विभिन्न दलहरू तालमेल गरेर जाने भएपछि राप्रपा नेपालले एक्लै चुनावमा जानु बुद्धिमानी देखिएन । राष्ट्रियता, आर्थिक समृद्धि र स्थिरताको कारण हामीले नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गरेका हौँ । नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई धन्यवाद’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सम्बन्धित समाचार