काँग्रेस बझाङ सभापति चढेको जिप दुर्घटना, एकको मृत्यु, ३ घाइते

नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहरा र उनको परिवार सवार जिप दुर्घटना भएको छ । बझाङ जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

दुर्घटनामा काँग्रेस सभापति खड्क सामान्य घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा सभापति खड्कका माइला विनोद बोहरा रहेका छन् । त्यस्तै दुर्घटनामा परी घाइते हुनेमा घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए ।



जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के–कति कारणले घटेको हो भन्ने विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरी बताएका छन् ।

सम्बन्धित समाचार