नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ वैशाख ।

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित टहरोमा काठमाडौं सितापाईला घर बताउने करिब ५० वर्षीय गोपाल प्रधान नाम गरेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै तेह्रथुम, आठराई गाउँपालिका-२ खाम्लालुङ बस्ने ५५ वर्षीय नाक्पु छिरिङ शेर्पा आफ्नै घरदेखि करिब ३ किलोमिटर टाढा जुरे जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता डोटी, पुर्विचौकी गाउँपालिका-७ पोखरी बस्ने ५५ वर्षीय दिल बहादुर बडेला सोही ठाउँस्थित दाडीया भिर मुनि सोमबार मृत अवस्थामा फेला परेका छन् । वैशाख २ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला परेको हो ।
त्यसैगरी मोरङ, ग्रामथान गाउँपालिका-७ स्थित बाटो छेउमा सुन्दरहरैचा नगरपालिका-११ बस्ने ८७ वर्षीय बल बहादुर श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषा, जनकनन्दनी गाउँपालिका-१ इनर्वास्थित दशगजामा भारत विहार मधुवनी जयनगर ग्राम पञ्चायत-७ कमला रोड बस्ने ३५ वर्षीय ललन कुमार मण्डल आइतबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

