नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ वैशाख ।

सत्तारुढ पाँच दलीय गठबन्धनबीच महानगर भागबण्डामा सहमति जुटेको छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बसेको बैठकले महानगर भागबण्डामा सहमति जुटेको हो ।
नेपाली काँग्रेसले पोखरा महानगरपालिकाको दाबी छोडेसँगै महानगर भागबण्डामा गठबन्धनबीच सहमति जुटेको हो । बैठक अनुसार ६ मध्ये तीन वटा महानगर नेपाली काँग्रेसले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान १-१ महानगरको नेतृत्व पाउने भएको हो ।
नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका, नेकपा माअोवादी केन्द्रले भरतपुर महानगरपालिका, नेकपा एसले पोखरा महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउने सहमति भएको बालुवाटार स्रोतले बताएको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा पोखरा महानगरको विषयमा कुरा नमिलेपछि सहमति हुन सकेको थिएन । हिजोको बैठकमा पोखरा महानगरको लागि नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका थिए ।

