नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ वैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । आज (सोमबार) काठमाडौँको राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौँ महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेका थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै उपमेयरका उम्मेदवार डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताइन् । एमालेका तर्फबाट प्रमुख उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखलगायतका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् ।