नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज(मंगलबार) बिहान १० :३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा ३ हजार ३१८ र उपप्रमुखमा २ हजार ३६ जनाको मनोनयन दर्ता भएको छ ।
यस्तै पालिका अध्यक्षमा ३ हजार ३०६ र उपाध्यक्षमा २ हजार ३४३ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ३३ हजार १११ , महिला सदस्यमा २४ हजार २८३ , दलित महिला सदस्यमा २१ हजार ९७९ र वडा सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । प्रदेश नं १ मा २२ हजार १९४, मधेसमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ ।
सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ । आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।
वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदावरको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
सूची
यो पनि पढ्नुस :