नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीको पुलिन्दा मात्र भएको बताएका छन् । आज (मंगलबार) मनमोहन अधिकारीको २३ औँ स्मृति समारोहलाई सानेपामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले काँग्रेसलाई देशको बारेमा कुनै चिन्ता नभएको बताएका छन् । उनले काँग्रेसको घोषणापत्रमा गालीगलौजमात्रै समेटेको बताएका हुन् । ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभई पागलहरूको प्रलाप रहेको बताए । ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्ताबेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । कांग्रेसको घोषणापत्रमा राजनीतिक कुरा नै छैन ।’
एमालेले गरेको विकासलाई काँग्रेसले घोषणापत्र ‘उत्ताउलो विकास’ भनेकोमा ओलीले आपत्ति जनाए । ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनले आफूलाई काँग्रेसको माया र दया लाग्ने बताएका छन् । ‘कुन रसातलमा पुग्यो काँग्रेस ? कठैबरी ! माया लाग्छ काँग्रेसको, दया लाग्छ काँग्रेसको, कहाँ पुग्यो विचरा काँग्रेस ? लोकतन्त्रका लागि मात्रै मैले काँग्रेसप्रति दया देखाएको हो ‘ ओलीले भने । उनले नेपाली काँग्रेसको नेतृत्व र सरकार यस्तै भइरहे एमालेलाई सजिलो हुने भएकोले धन्यवाद दिनुपर्ने पनि बताए ।