नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वाशिङटनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गरेका राष्ट्रपतिको प्रेस सेवाले सोमबार जनाएको छ ।
दुवै पक्षले रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ३.४ बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ जुन युक्रेनको रक्षा क्षमतालाई सुदृढ पार्न सबैभन्दा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।
आर्थिक सहायताको बारेमा बोल्दै, जेलेन्स्कीले संयुक्त राज्यले युक्रेनलाई द्वन्द्वपछिको पुनः प्राप्तिमा मद्दत गर्ने र अमेरिकी बजारमा युक्रेनी सामानको पहुँचलाई सहज बनाउने आशा व्यक्त गरेका छन् । रुसलाई थप प्रतिबन्ध लगाउने अवधारणापत्र अमेरिकी पक्षलाई हस्तान्तरण गर्दै जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री आइतबार किभ आइपुगेका हुन् ।