नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ वैशाख ।
नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झन्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो । लामो राजनीतिक विवाद र असहमतिकाबीच प्रमुख राजनीतिक दलले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अनुमोदन गरेका थिए । सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच २०७४ भदौ २९ गते अनुदान सहायता सम्झौता भएको थियो ।
नेपालको संविधानको धारा २७९ बमोजिम अनुमोदन गरेको र सो को नेपाली र अङ्ग्रेजी भाषाको प्रामाणिक प्रति नेपाल सन्धि ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि राजपत्रमा प्रकाशन गरिएको छ । ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत् ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत्को उपभोगमा वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम गर्ने विषय सो परियोजनाको उद्देश्यका रुपमा रहेको छ ।
सम्झौता अनुसार एमसीसीले नेपाललाई ४५ करोड ९५ लाख अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउनेछ । वित्तीय व्यवस्थाका अतिरिक्त थप चार करोड पाँच लाख डलर बराबरको रकम समेत उपलब्ध हुनेछ । काठमाडौँको नाङ्लेभारेबाट सुरु हुने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलको न्यु बुटवल सवस्टेशनमा जोडिनेछ ।
यस्तै गल्छीबाट अर्को लाइन हेटौँडा जानेछ । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्त्वपूर्ण मानिएको एमसिसी सम्झौता अनुमोदनपछि कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छ । पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने समय सीमा हुने भएकाले हाल पूर्व तयारीका सबै काम अगाडि बढिरहेको एमसीए नेपालले जनाएको छ । केही दिन पहिले मात्रै सडक विभागमा सडक निर्माणको गुणस्तरसम्बन्धी प्रयोगशाला स्थापना भएको छ ।
यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जा वितरणलगायतको काम समेत सुरु हुने प्रक्रियामा छ ।
नुवाकोटको रातमाटेमा जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ । रातमाटेमा ४०० केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ । यस्तै, तनुहँ र बुटवलमा समेत सोही क्षमताको सवस्टेशन निर्माण हुनेछ ।
पूर्णपाठ