नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ वैशाख ।
सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।
वर्तमान आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाश पाउन लागेपछि नयाँ आईजीपी नियुक्ति गरिएको हो । प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ ।
सिंह विसं.२०४९ चैत १२ गते नेपाल प्रहरीको निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुक अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । तर, सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।