गठबन्धनको विषयमा यसो भने प्रकाशमान सिंहले

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताएका छन् ।कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले झण्डै दुई तिहाइ मत प्राप्त गरेको कम्युनिष्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको बताए । ‘काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख दायित्व काँग्रेसको हो, संविधानमा व्यवस्था गरिएका जनताको हक अधिकारलाई सुरक्षित गर्न वर्तमान गठबन्धन निर्माण भएको हो’, उनले भने ।



सिंहले मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको बताउँदै काँग्रेसले नै देशको विकास गर्ने उल्लेख गरे । संविधानले दिएको अधिकार प्रयोग गर्ने वातावरण काँग्रेसले निर्माण गर्ने उनको भनाइ छ । पूर्वउपप्रधानमन्त्री सिंहले सिंहदरबारको अधिकार स्थानीय तहमार्फत घरघरमा पुगेको भन्दै घरघरमा पुगेर जनताको सेवा बुझ्ने स्थानीय जनप्रतिनिधि स्थानीय सरकारले खोजेको बताए । उनले घरघरमा पुगेर आफ्नो पक्षमा मत माग्नसमेत पार्टीका उम्मेदवारलाई आग्रह गरे ।

सम्बन्धित समाचार