मोहम्मद अफताव आलमको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्च अदालतले उच्च अदालत वीरगञ्जकै निर्णयलाई सदर गरेको छ । आज (शुक्रबार) सर्वोच्चले उच्च अदालतकै निर्णयलाई सदर गरेको हो ।

सर्वोच्चको यस्तो आदेशसँगै उनी तत्काल थुनामुक्त नहुने भएका छन् । उनलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गर्दै उच्च अदालतकै निर्णयलाई सदर गरेको हो । उनी हाल ललितपुरको नख्खुस्थित कारागारमा छन् ।



आलमलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो। जिल्ला अदालत रौतहटले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो ।

२७ चैत २०६४ मा रौतहटमा आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा थुनामा रहेका छन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका हुन् । जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले थुनामा राख्ने भन्ने आदेश विरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

 

सम्बन्धित समाचार