नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनकारीले पाँच दलीय गठबन्धनको विरोध गरिरहेको बताएका छन् । आज (शुक्रबार) सत्ता गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
केसीले अहिले गठबन्धन भन्दा पनि प्रतिगमन बलियो भएको दावी गर्दै गणतन्त्र जोगाउन हम्मे-हम्मे परेको बताए । ‘गठबन्धनभन्दा अहिले बलियो छ प्रतिगमन । ‘हामीलाई अहिले पनि गणतन्त्र जोगाउन हम्मे-हम्मे परेको छ’ केसीले भने । उनले आफूलाई काँग्रेससँग बिकेको भनेर गलत प्रचार गरेको आरोप समेत लगाएका छन् ।
उनले आफूप्रति आरोप लगाउनेलाई ‘प्रतिगामीका मतियार’ संज्ञा दिँदै देशमा प्रतिगमनको खतरा रहेकोले आफूहरू गठबन्धनमा सहभागी भएको बताए । पाँच दलभित्रै पनि मतभेद रहे पनि अहिले गणतन्त्र जोगाउनका लागि मिलेर जानुपर्ने अवस्था रहेको धारणा व्यक्त गरे । ‘हिजो प्रजातन्त्र मास्न खोस्नेहरुले यो गठबन्धनको विरोध गरेका छन्। पाँच दलभित्र मतभेद रहे पनि गणतन्त्र जोगाउने सवालमा हामी एक ठाउँमा छौं ।’ त्यस्तै केसीले गठबन्धनप्रति आफ्नो पार्टी इमान्दार रहेको दावी गरे ।