नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ वैशाख ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारण असफल भएको बताएका छन् । आज (शनिबार) धनुषामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मधेसी जनताको चाहनाअनुसार आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा संविधान संशाेधन गर्न खोज्दा ओलीने नदिएको बताएका छन् । ‘दोस्रो पटक प्रधानमन्त्रीको हुँदा दुईपटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले भने, ‘ र, त्यो संशोधन र परिमार्जनको केपी ओलीकै कारणले हुन सकेन ।’
त्यस्तै अध्यक्ष प्रचण्डले एमालेले मधेसमा भ्रम छर्ने प्रयास गरिरहेको दावी गरे । मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धिका लागि गठबन्धन भएको उनले बताए । ‘एमाले मधेसी , आदिवासी, दलित, महिला, जनजाति, मुस्लिम विरोधी पार्टीको रुपमा स्थापित भएको छ, फेरि त्यही पार्टी जनतालाई भ्रम दिने गरी षड्यन्त्र गर्दैछ ’ प्रचण्डको भनाइ छ ।