नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ वैशाख ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली काँग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन सबैमा अनुरोध गरेका छन् । आज (मंगलबार) एक अपिल जारी गर्दै देउवाले यस्तो अनुरोध गरेका हुन् ।
देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको बताएका छन् । उनले हरेक नागरिकका सुखदुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र स्थानीय तह भएको दावी गरे । नेपाली काँग्रेसको नेतृत्वमा दशकौँसम्म भएका लोकतान्त्रिक सङ्घर्षका बाबजुद थुप्रै आरोह, अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैँ बनाउने अवसर प्राप्त गरेकाले निर्भीकता साथ सहभागी भई मतदान गर्न समेत देउवाले अपिल गरेका छन् ।
नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको अपमान गरी संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्न खोजेका कारण नेपाली काँग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा गर्न पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनु पर्ने अवस्था रहेको देउवाको भनाइ छ ।
गठबन्धनको सरकारले कोभिड – १९ को नियन्त्रण गर्नुका साथ काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गरिएको बताए । ‘नेपाली काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ,’ अपिलमा उल्लेख छ । देउवाले एमसीसी पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेको पनि बताए।
नेपाली काँग्रेस आम नेपाली नागरिकको ढुकढुकी भएको बताउँदै देउवाले ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ मूलमन्त्र रहेको भन्दै ‘रूख’ चिह्नमा मतदान गर्न अपिल गरेका हुन् । उनले भने, ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ । ‘सबल स्थानीय सरकार: समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो ।’
यस्तो छ अपिल