प्रचण्डले नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्ने

मतदानका लागि शीर्ष नेता चितवनमा

भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन पुगिसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन पुगेका हुन् ।

प्रचण्ड बुधबार चितवन गएका हुन् । उनी गृहजिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदानस्थल उनीलगायत एक हजार ६७८ जना मतदाता छन् ।



त्यस्तै , एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दै छन् । उनले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्दै छन् । सो मतदानस्थलमा तीन हजार ६५ मतदाता छन् । यस्तै, एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्ने छन् । सो मतदानस्थलमा भने पाँच हजार ८३६ मतदाता छन् । एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा आएर बसेका थिए ।

त्यसैगरी , भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनको रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका–१४, एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन्। यता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्ने छन् ।

सम्बन्धित समाचार