नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूका विरुद्ध मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्व सांसदसहित पाँच जनालाई नेपाली काँग्रेसले पार्टी सदस्यबाट निलम्बन गरेको छ । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै काँग्रेसले पौडेललाई सहयोग गर्ने पाँच जनालाई निलम्बन गरेको जानकारी दिएको हो ।
निलम्बन हुनेहरुमा काँग्रेसका पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, तरुण दलकै पूर्व जिल्ला सचिव आनन्दराज राउत, कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा.केशव पौडेल रहेका छन् ।
‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरूका विरुद्ध सक्रिय रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बन गरिएको छ’ कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा.प्रदीप पराजुलीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति