राजु लामिछाने
काठमाडौं, ५ जेठ ।
सफलता सवैले देख्छन्, संघर्ष पर्दा पछाडि नै लुकेको हुन्छ । काठमाडौं महानगरको मेयरमा बालेन अर्थात् बालेन्द्र शाहले प्राप्त गरेको मतलाई हेरेर जिब्रो टोक्नेहरुमध्ये कमैले उनको संघर्षलाई महसुस गरेका होलान् । विगत ५ वर्षयता बालेनले काठमाडौंको मेयर बन्ने तयारीस्वरुप गरेको संघर्षको पाटोलाई भुल्ने हो भने उनको सफलतालाई अनेक उपमा दिन सकिन्छ । तर यथार्थ सतहमा देखिएभन्दा फरक छ ।
संघर्ष त मानव जीवनमा चलिनै रहन्छ, तर हरेक संघर्षले सफलताको स्वाद चाख्न सक्दैनन् । तर बालेनले ५ वर्ष गरेको संघर्ष र मेहनतले सकारात्मक प्रतिफल दिने निश्चित देखिन्छ । १ लाख ९१ हजार मतमध्ये ५० हजार मत गणना हुँदा बालेनको पक्षमा झरेको मतको प्रकृति हेर्दा बालेन काठमाडौंको मेयर बन्ने निश्चित छ । उनको यो सफलता राजनीतिक दलहरुको टाउँको दुखाइको विषय बनेको छ । केही राजनीतिक विश्लेषकहरुले त बालेनको सफलतालाई दलीय व्यवस्थामाथिको खतराको रुपमा व्याख्या गर्न थालिसकेका छन् ।
सफलतासँगै मानिस दुनियाँको निशानामा पर्दछ । मतपरिणामसँगै बालेनको पक्ष र विपक्षमा माहोल बन्ने क्रम सुरु भएको छ । यसबीचमा उनलाई राजावादीदेखि राप्रपा निकट भएको भन्नेसम्मका आरोपहरु लगाइएका छन् । कतिपयले उनलाई अमेरिकी एजेण्ट र एमसीसीको पक्षपातिसम्म भन्न भ्याए । त्यसो त हिजो स्वतन्त्र रुपमा काठमाडौंको मेयरमा उम्मेद्वारी दिएर मत माग्दै गर्दा उनीप्रति नाक खुम्याउनेको संख्या पनि समर्थकभन्दा कम थिएन । हिजोका दिनमा बालेको चर्चाप्रति खिल्ली उडाउनेहरुको कमी थिएन । हिजो उनले प्राप्त गर्ने मतको अनुमान गरिएका र उनीप्रति व्याङ्ग्य गरिएका भिडियोक्लिपहरु अहिले उनका समर्थकहरुले भाइरल बनाइरहेका छन् । यो क्रम अन्तिम मतपरिणाम नआउदासम्म जारी नै रहने देखिन्छ । तर यी क्रियाकलापप्रति बालेनले कुनै प्रतिक्रिया जनाएका छैनन् । हिजोका दिनमा आफ्नो लोकप्रीयताको नजरअन्दान गर्नेहरुलाई बालेनले जसरी सकारात्मक प्रतिक्रियाको साथ विरोधि र समर्थक दुबैलाई रिझाउने रणनीति लिए हालको दिनमा पनि आफ्नो पक्षमा बनेको माहोलप्रति संयमित देखिन्छन् ।
पाँच वर्ष अगाडिको मास्टार प्लान
अघिल्लो स्थानीय तहको निर्वाचनमा नै बालेनले अर्कोपटक काठमाडौं महानगरमा आफू स्वतन्त्र रुपमा मेयरको उममेद्वार बन्ने संकल्प गरेका थिए । त्यतिवेला नै उनले यसपटक कसैलाई मतदान नगर्ने र अर्कोपटकको स्थानीय निर्वाचनमा आफैलाई मतदान गर्ने भन्दै राजनीतिमा आउने संकेत गरेका थिए । राजनीतिक दलहरु ज्नताप्रति इमान्दार नदेखिएकोले अरुलाई मतदान गर्नुभन्दा अर्को निर्वाचनमा आफै उम्मेद्वार बनेर जनताको सेवा गर्ने इच्छा उनले प्रकट गरेका थिए ।
त्यसयता उनका हरेक गतिविधि काठमाडौंको मेयर बन्नेतर्फ केन्द्रित देखिन्छ । उनले यो अवधिमा काठमाडौं महानगरको समस्यालाई नजिकबाट नियाल्ने काम मात्र गरेनन्, महानगरको समस्या समाधानको उपायको खोजीमा पनि तल्लिन रहे । पछिल्लो समय निर्वाचन समयमा उनले व्यक्त गरेका विचार यही पाँच वर्ष गरेको संघर्षको फल थियो । राजनीतिज्ञ, विषयगत विज्ञ र समाजसेवीसँगको परामर्शपछि बालेनले व्यक्त गरेको विचारले मानिसको मन मात्र जितेन उनलाई नै मतदान गर्न अभिप्रेरित समेत गर्यो ।
समाजका प्रभुत्व व्यक्तित्वसँग भेटेर बालेनले आफू योजनाबद्ध हिसावले महानगरको विकासमा प्रतिबद्ध रहेको सन्देश दिए । विज्ञानका विषयमा महाविर पुन, कानुनका विषयमा युवराज संग्रौला, स्वस्थ्यका विषयमा डा. सन्दुक रोहित, पूर्व सचिव भीम उपाध्यायलगायत स्वतन्त्र कलाकारहरुसँग भेटेरै उनले आफ्नो पक्षमा माहोल बनाउने काम गरे । फलतः निर्वाचनको दिनसम्म आउँदा युवापुस्ता मात्र नभएर महनगरका हरेक तप्काका मानिसहरु उनको पक्षमा उर्लिए । यो माहोल मतदानको क्रममा पनि देखियो ।
छोटै समयमा स्थापित लौरो
निर्वाचन आयोगले चुनाव चिह्न लौरो प्रदान गरेलगत्तै बालेनले सामाजिक सञ्जालमा लेखे ‘चुनाव चिन्ह लौरो, बा आमा लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने’ । उनको यो नाराले लौरोलाई छोटै समयमा मानिसको मन मनमा पुर्याउन सफल बन्यो । काठमाडौं उपत्यकाकाभर उम्मेद्वार नै नभएको पालिकामा पनि लौरोमा झरेको मतले पनि यसको प्रभावकारिता छर्लङ्ग पार्छ ।
यसबीचमा बालेन शाह र उनको टिमले अपनाएको रणनीतिले उनको जीत सुनिश्चित गर्न सहयोग पुर्यायो । घरवेटी संझाउ अभियान, एक घर एक मत अभियान निकै प्रभावकारी बन्यो । त्यसमा पनि विदेशमा रहेका नेपालीमार्फत नेपालमा रहेका आफन्तलाई कन्भिन्स गर्ने योजनाले बालेन जिताउ अभियानलाई थप बल पुग्यो ।
दलहरुसँगको असन्तुष्टि पोख्ने माध्यम
काठमाडाैं महानगरबासीमात्र होइन देशभरका जनता राजनीतिक दलसँग रुष्ट छन् । विकल्प नभएकोले नै खरावमध्येका कम खराव छान्न जनता बाध्य छन् । तर जव आफूले कल्पना गरेजस्तै उम्मेद्वार स्वतन्त्र रुपमा निर्वाचनमा होमिएको पाएपछि जनताको मत बदलिन समय नै लागेन । यसले पनि बालेनलाई महानगरमा स्थापित हुन समय लागेन । प्रारम्भिक मतगणनाको रुझान हेर्दा बालेनको जित अकाट्य देखिन्छ । यससँगै उनलाई मतदान गरेका मतदाताको नजर उनले गर्ने काममा पुग्ने निश्चित छ । बालेनको जादुको छडी मत प्राप्त गर्न मात्र सफल देखिन्छ या महानगरको मुहार फेर्न पनि सफल होला ? यसको लागि समयको प्रतीक्षा गर्नुको विकल्प छैन ।।