नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।
तुलसीपुर उपमहानगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । तुलसीपुर उपमहानगर सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको हो ।
महानगरको मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्रगिरीले २७ हजार ७१७ मत प्राप्त गरेका थिए । खड्का गिरीलाई तीन हजार ६९१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
त्यस्तै उपमेयरमा एमालेकी चौधरी स्यानी ३० हजार ५९७ मत ल्याई विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत ल्याएका थिए । चौधरीले रानालाई नौ हजार ५३२ मत पछि पार्दै विजयी भएकी हुन् ।तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।