नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।
अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाडौँ महानगरपालिका, मधेस प्रदेशमा रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।
सार्वजनिक भएको मत परिणामअनुसार नेपाली कांग्रेस १३८ नगरपालिका र १८८ अध्यक्षसहित ३२६ स्थानमा विजयी भएको छ । जारी मतगणनामा कांग्रेस दुई स्थानमा अगाडि छ । एमाले ८१ नगरपालिका र १२३ गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १२१ स्थानीय तहमा विजयी भएको छ ।