काठमाडौँ महानगरको मेयरमा बालेन र उपमेयरमा सुनिता निर्वाचित (मतपरिणामसहित)

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् ।

बिहीबार राति सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बालेन ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८,३४१ हजार मत ल्याएकी छन् । साहले सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् । त्यस्तै एमालेका केशव स्थापितले ३८,११७ हजार मत प्राप्त गरेका छन् ।



त्यसैगरी कामपाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डङ्गोल विजयी भएका छन् । डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे । सुनिताले रामेश्वरलाई ४४ हजार ८०६ को भारी मतान्तारले पछि पार्दै विजय भएकी हुन् ।

कामपाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जानको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडा र प्रमुख–उपप्रमुखसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् ।

कामपाका ३२ वडामध्ये १९ मा काँग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोल विजय हात पारेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणना ३१ गते शनिबारबाट सुरु गरी १३ दिनपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मेयर –उपमेयरसहितको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । उक्त निर्वाचनका लागि कामपामा मात्रै १५६ स्थल र ३६३ केन्द्र तोकिएको थियो । यहाँ तीन लाख २४२ मतदाता रहेको भने पनि करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।

सम्बन्धित समाचार