नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ जेठ ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) मेयर साहले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रिय सभामा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका थिए । उनले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि नेपाल भाषामा पनि शपथ वाचन गरेका थिए ।
त्यस्तै उपमेयर सुनिता डंगोलले पनि निर्वाचन अधिकृत खतिवडासँग शपथ लिएकी छन् । डंगोलले भने नेपाल भाषामा शपथ लिएकी थिइन् । त्यसपछि मेयर साहले काठमाडौँ महानगरमा निर्वाचित वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराएका थिए । त्यस्तै कार्यक्रममा जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत खतिवडाले प्रमाणपत्र वितरण गरेका थिए ।