नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ जेठ ।
सरकारले जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकले मूल्य अभिवृद्धि कर (चौबीसौं संशोधन), नियमावली २०७९, अन्तःशुल्क (तेइसौं संशोधन) नियमावली, २०७९, भन्सार (तेह्रौं संशोधन) नियमावली, २०७९ र आयकर (तेह्रौं संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने, नेपाल राष्ट्र बैङ्क लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैङ्कलाई लिजमा दिन स्वीकृति दिने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय
अन्तःशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय
बजेट तथा अर्थ सम्बन्धी विधेयकहरु संघीय संसदमा पेस गर्ने निर्णय
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एन्ड गाइनोकोलोजिष्ट डा. जागेश्वर शर्मा गौतमले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय
बेल्जियमको राजधानी ब्रसेल्समा बि.सं. २०७९ जेठ १८ देखि १९ सम्म आयोजना हुने ग्लोबल समिट २०२२, टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अबुस अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय
नेपाल राष्ट्र बैङ्क लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैङ्कलाई लिजमा दिन स्वीकृति दिने निर्णय
लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय
गणतन्त्र दिवस २०७९ को अवसरमा उपमाकान्त पराजुलीसमेत १६ जना व्यक्तिहरुको सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र यूएनडफ सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने निर्णय
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय
सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदावधि एक पटकको लागि थप गर्ने निर्णय