गठबन्धन कायम रहने भएकाले बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : नेता पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै पुनले यस्तो बत्याका हुन् ।

पुनले आगामी आर्थिक वर्षका लागि उत्कृष्ट बजेट आएको दाबी गरे । उबले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन् । उनले भने ‘यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित भई रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले बजेट समयकै कार्यान्वयन भएर सफल हुन्छ ।’



त्यस्तै उनले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारिक व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको बताए । यस्तै, पुनले आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य समेत स्वागतयोग्य रहेको बताए ।

नेता पुनले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने भएकाले ती गाडीका लागि बढी कर नलगाउन आग्रह गर्दै आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने भनाइ राखे ।

सम्बन्धित समाचार