नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । आज(मंगलबार) प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै रिजालले यस्तो बताएका हुन् ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलका भनाइमा जवाफ दिँदै डा रिजालले अघिल्लो सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा संसद् बाहिरबाट ल्याएको बजेट र हालको बजेटको तुलना गर्न उपयुक्त नहुने बताएका छन् । रिजालले भने, ‘गत वर्ष संसद्भन्दा बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो ।’
‘हजारौँ माइलको यात्राको पहिलो कदमको थालनी गरेका छौँ तर सत्ता पक्ष र विपक्षका लागि नेपाल निर्माणका लागि कसरी सँगै जान सक्छौँ, एकापसमा गालीगलौज नगरौँ । मुलुकका लागि सोचौँ ‘ रिजालको भनाइ छ । यसअघि प्रतिनिधि सभामा बोल्दै एमाले उपाध्यक्ष पौडेलले वृद्ध भत्ताको उमेर घटाइएको र सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइँदै आएको रकम नबढाइएको भन्दै किन नबढाइएको हो ? भनेर प्रश्न गरेका थिए ।
‘तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागू गर्ने ?’ रिजालले भने, ‘आएन स्वाभाविक छ, यति त सम्झिदिनुपर्यो भन्ने मेरो अनुरोध मात्र हो ।’