नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ जेठ ।

नेपालगञ्जको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ । आज (बिहीबार) बिहान वीरेन्द्रको सालिक राख्ने विषयमा झडप भएको हो ।
वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले चार राउण्ड हवाई फायर र अश्रुग्याँस समेत प्रहार गरेको छ । प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्याँस र हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकरी दिए ।
उनले भने, ‘प्रहरीले बाध्य भएर अश्रुग्याँस र हवाई फायर गर्नु पर्यो।’ त्यस्तै उनले झडपको क्रममा केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको बताए । झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिए । स्थानीय प्रशासनले पूर्व राजाको शालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको थियो ।

