नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ जेठ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । झापा, बिर्तामोड नगरपालिका-१ स्थित ग्रिन फ्यासिफिक होटलमा गौरीगन्ज गाउँपालिका-१ महाभारा बस्ने ३० वर्षीय घनश्याम भट्टराई बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
मंगलबार होटलको कोठा लिई बसेका उनी बाहिर नआएको र बोलाउँदा समेत ढोका नखोलेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरीले ढोका खोल्दा उनको शव फेला पारेको हो । त्यस्तै इलाम, सूर्योदय नगरपालिका-२ डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ संगमचोक घर भएका ३० वर्षीय अनुप भन्ने उज्जवल सावाँ लिम्बु आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काठमाडौं महानागरपालिका-१६ माछापोखरीस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, भजनी नगरपालिका-५ कालापातलस्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कपिलबस्तु, शिवराज नगरपालिका-१ बन्कट्टा बस्ने ५७ वर्षीय पशुपती लोहार सोही ठाउँस्थित टिकुलीगढ सामुदायिक बनको नर्सरी जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।यता मकवानपुर, मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सुनाचुरी जंगलको खोल्सामा सोही गाउँपालिका-६ जोगिताल बस्ने १६ वर्षीय सुरेश लामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देही, सैनामैना नगरपालिका-२ सरौली मनकामना टोलस्थित रिङरोडको कलबर्टमा रहेको पानीमा सोही ठाउँ बस्ने ५५ वर्षीया दिलमाया थारु बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

