नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ जेठ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बीच भेटवार्ता भएको छ । आज (शनिबार) मेयर बालेन्द्र र प्रचण्डबीच ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भेटवार्ता भएको हो ।
भेटवार्तामा मेयर शाहले अध्यक्ष दाहालसँग काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गरेका छन् । त्यस्तै उनले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराएको अध्यक्ष दाहालका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिए ।
अध्यक्ष दाहालले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालीको स्थानीय तह निर्वाचनमा पनि युवाहरु नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । भेटमा दुबैले एकअर्काको प्रशंसा गरेका गर्दै मेयर शाहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
मेयर शाहले अध्यक्ष दाहालसँगको भेटमा आफूले विकासको काममा निरन्तरता दिने, विकासको एजेण्डा बोक्न सक्ने र दृष्टिकोण भएका व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएको जानकारी दिए । यसअघि मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्।

