मृत अवस्थामा ५ जना फेला

काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्दस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सर्लाही, पर्सा गाउँपालिका-६ बस्ने शम्भु राम महराकी छोरी ७ वर्षीया पिंकी कुमारी महरा सोही ठाउँस्थित पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बाख्रा चराउन गएकी उनी घर फर्की नआएछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको हो ।



यस्तै इलाम, इलाम नगरपालिका-१० गोदक सिलपुर बस्ने ६१ वर्षीय दुर्गा प्रसाद नेम्वाङ सोही ठाउँस्थित पटपटे भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता धनुषा, लक्ष्मीनियाँ गाउँपालिका-२ दोहर बस्ने ६५ वर्षीय शुभक लाल यादव घर नजिकैको खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी अछाम, पञ्चदेवल बिनायक नगरपालिका-४ बस्ने १७ वर्षीय बिनोद बहादुर शाही सोही नगरपालिका-४ कालिकास्थानमा शनिबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार राति आफ्नै घर नजिक रिठा टोलबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार