नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर नउठाउने र फर्काइदिने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ। यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ ।’
‘अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर ननिस्कून् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन ‘ फेसबुकमा शाहले लेखेका छन् ।
काठमाडौंको फोहोर व्यवस्थापन गर्ने गरिएकाे सिसडोल र बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपनि लामो समयसम्म महानगरको फोहोर उठ्न सकेको छैन । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखमा क्षमाप्रार्थी छौं भने शाह लेख्छन्, ‘अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ। साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ।’
फोहोर उठ्नु मात्रै समाधान नभएको भन्दै मेयर शाहले महानगरको फोहरको समस्याको दिर्घकालिन समाधानको लागि अझै धेरै गर्न बाँकी रहेको बताएका छन्। ‘हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्याँकेर वा थुपारेर हुँदैन,’ मेयर शाहले लेखेका छन्।
अब फोहोर उठ्ने र यो सबैको लागि खुसीको खबर भएको भन्दै मेयर शाह लेख्छन्, ‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन । ’
‘अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ,’ उनले सबै महानगरवासीसँग अनुरोध गरेका छन्।
