नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । कञ्चनपुर, बेदकोट नगरपालिका-७ सुडास्थित भगवती टोल बस्ने ३५ वर्षीय हिक्मत बहादुर बम छिमेकीको घर पछाडि सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै बैतडी, दशरथचन्द नगरपालिका-२ सौडाली बस्ने ३४ वर्षीय प्रेम सिंह रावत सोही नगरपालिका-१ ईडा खोला नजिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । जेठ १७ गतेदेखि घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यस्तै कैलाली, घोडाघोडी नगरपालिका-५ सितलपुर मड्यारी बस्ने २१ वर्षीय पुरन चौधरी सोही ठाउँस्थित शान्ति सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार घरबाट खाना खाएर काम गर्न जान्छु भनेर गएका उनको उक्त स्थानमा शव फेला परेको हो । यता कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ जमौरास्थित पोखरीमा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण पासि सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-९ स्थित पुरानो दक्षिणकाली वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३ वर्षीय १ जना पुरुष र १ जना महिला गरी दुई जना सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

