इम्बोस्ड नम्बर प्लेटको विषयमा यसो भन्यो यातायात विभागले (विज्ञप्तिसहित)

इम्बोस्ड नम्बर प्लेट जडानको विषयमा चर्को चर्को विरोध भएपछि यातायात व्यवस्था विभागले साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय नभएको स्पष्ट पारेको छ । आज (मंगलबार) विभागले एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय नभएको स्पष्ट पारेको हो ।

विभागले साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ । विभागले जेठ २० गते प्रकाशित सूचनाबाट आम सेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति क्षमायाचना माग्दै तत्कालका लागि सबैलाई अनिवार्य गरिएको नभई पहिले नै बाध्यकारी बनाएको सरकारी निकाय लगायतलाई मात्रै अनुगमन गर्न खोजिएका स्पष्ट पारेको छ ।



‘नेपाल सरकारबाट मिति २०७८ कार्तिक २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाको परिपुरक सुचना भएको व्यहोरा स्पष्ट गरिएको छ । २०७९ जेष्ठ २० गतेको विभागको सूचना मिति २०७८ कार्तिक २२ गतेको राजपत्रको सूचनाको निरन्तरता मात्र हो । यस सूचना मार्फत २०७९ श्रावण १ गतेका दिन बिहान देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आशय विभागको अलिकति पनि होईन । विभाग यस विषयमा प्रष्ट छ कि दिईएको ४० दिनमा नेपालमा हाल दर्ता कायम रहेका सवै साधनमा त परै जावस् अहिलेकै गतिमा नम्बर प्लेट जडान हुने हो भने सम्झौता बमोजिम परियोजनाले जडान गर्नुपर्ने २५ लाख सवारी साधनको केही प्रतिशत सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुने सक्ने देखिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’ विभागले इम्बोस्ड प्लेट जडानका लागि आवश्यक सबै पूर्वाधार तयार रहेको दाबी पनि गरेको छ । विभागले आवेदन प्रणाली, पर्सानलाइजेसन प्रणाली, फिटिङ गर्ने जनशक्ति, प्लेट ढुवानी व्यवस्था पनि तयार रहेको बताएको छ ।

यस्तो छ विभागको विज्ञप्ति :

 

सम्बन्धित समाचार