नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)बीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान गृह मन्त्रालयमा गृहमन्त्री खाँण र प्रवक्ता विश्वकर्माबीच भेट भएको हो ।
भेटवार्तामा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी रहेको थियो । भेटमा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरूको रिहाइ लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए । प्रवक्ता विश्वकर्माले कैदीबन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राखेका थिए ।
उनले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राखेको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए । त्यस्तै सरकारका तर्फबाट गृहमन्त्री खाँण ले स्थानीय तहको निर्वाचन पूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरूप प्रक्रिया अगाडि बढेको जानकारी दिए । नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुन अनुरुप रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए । नेकपाका १२० जना नेता कार्यकर्ता अझै जेलमै रहेका छन् ।
