नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४, रञ्जना सोडा गल्लीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मृत्यु हुनेमा टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जन रहेका छन् ।
त्यस्तै सिरहा, भगवानपुर गाउँपालिका-१ कल्याणपुरस्थित बलान पुल मुनी खोला किनारमा सोही गाउँपालिका-५ लालपुर बस्ने देवनारायण पण्डितकी ६ महिनाकी छोरी भुल्ली पण्डित मंगलबार मृत अवस्थामा फेला परेकी छन् । देवनारायणकी श्रीमतीलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै ललितपुर महानगरपालिका-१५ सातदोबाटो मोतिमार्ग डेरा गरी बस्ने रौतहट गढी गाउँपालिका-५ घर भएका ४३ वर्षीय भाग्यनारायण सहनी आफ्नै कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यता सुर्खेत, गुर्भाकोट नगरपालिका-५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा बारीको खाल्डोमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
हजुरआमासँग शनिबार भोजमा गएकोमा हजुरआमा घरमा आएको र नातिनी घरमा नआएपछि खोजी गर्ने क्रममा खाल्डोमा अर्ध गाडिएको र निधारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो । घटनाको आवश्यक अनुसन्धान एवम् सोधपुछका लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिका-४ सुकेधारा धोवीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता ललितपुर, ललितपुर महानगरपालिका-२२ फर्सिडोलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी डोल्पा, जगदुल्ला गाउँपालिका-२ स्थित नेपाल खाद्य संस्थानको भवनको खुल्ला ग्यालरीमा बिपिन भन्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

