नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।

नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताए । उनले जनताको स्वास्थ्यमा खेलबाड नगर्न पनि अनुरोध गरे । सांसद रावलले काठमाडौँको फोहर सफा गरेर देखाउन सरकारको ध्यानाकर्षण गराए ।
उनले अर्थ मन्त्रालयसँगको शीर्षकमाथि प्रश्न राख्दै संसारमा असफल भइसकेको नवउदारवाद र पुँजीकरणको बाटोमा राज्य हिँडिरहेको भन्दै आलोचना गरे । पूर्व मन्त्री रावलले व्यापार घाटा उच्च रहेको, चालु खातामा घाटा वृद्धि भइरहेको, भुक्तानी असन्तुलन तीव्र रहेको र बाह्य ऋण बढ्दो क्रममा रहेको तथा नेपालीका टाउकामा रु ६० हजारभन्दा बढी ऋण भइसकेको अवस्थामा नेपालको अर्थतन्त्रलाई सरकारले कसरी व्यवस्थापन गर्छ भन्दै जवाफ मागे ।
रक्षा मन्त्रालयसँगको विषयमा प्रश्न राख्दै उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सरकार मौन बस्नुले स्वाधीनता र स्वतन्त्रताको सुरक्षा नहुने बताए । त्रिभुवन विश्वविद्यालयमा ताला लागेको १३९ दिन हुँदासमेत कुनै पहलकदमी नहुने मुलुकमा उत्कृष्ट विश्वविद्यालय हुन्छ भनेर विश्वास गर्न नसकिने रावलले बताए ।
त्यस्तै उनले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गरे, ‘कहाँबाट आयो ईसा ?’ पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको उनले आशंका गरे ।
‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ। धर्मनिरपेक्ष भनिएको होइन देश ?मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ? कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन ?’, सांसद रावलले बैठकमा प्रश्न गरे । यस्तै रावलले संसदबाट एमसीसी सम्झौतालाई १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेर सो घोषणालाई सम्झौताको अंग बनाइएको भनिएपनि अंग बनेको पत्र नआएको बताए । उनले सो पत्रको बारेमा प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने बताए ।
