नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।

देशको संघीय राजधानी हो काठमाडौं । देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसाबमा देशका अन्य महानगरपालिकाहरु भन्दा अगाडि नै हुनुपर्ने हो । तर पछिल्लो समय विकासका पूर्वाधार निर्माणका हिसावले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके काठमाडौंको अवस्था त्यही पुरानो नै छ । काठमाडौंको विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढ्दैछ ।
एक हिसावले भन्ने हो भने काठमाडौंलाई हेरेर देशभरको मूल्याङ्कन गरिन्छ । राजधानी भइसकेपछि सुव्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रुपमा काठमाडौंलाई चित्रण गर्दछन् कतिपयले । किनभने अन्य कुनैपनि देशको संघीय राजधानी उत्रँदा देशको सम्पूर्ण मूल्याङकन गर्न सकिन्छ । तर काठमाडौंको वास्तविकता भने त्यस्तो छैन ।
काठमाडौं उपत्यकाभित्रका सडकहरूले काठमाडौंको वास्तविकता झल्काउँछ । काँठलाई काठमाडौं जोड्ने सडकहरूको नै मर्मतसम्भार हुन सकेको छैन । जसकारण ठूला ठूला खाडल बनेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना झनै बढेको छ ।
त्यतिमात्रै होइन, खराब सडकका कारण सडक पेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ, धुलो र हिलोको त्यत्तिकै समस्या छ । काठमाडौंलाई कतिपयले अव्यवस्थित शहरको उपमा दिन थालिसकेका छन् । ट्राफिक जामको कुरा त धेरै पछिको कुरा हो । सवारीसाधन गुड्ने सडक नै व्यवस्थित छैनन्, कतिपय ठाउँका । राम्रा भनिएका सडकमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी धेरै भेटिन्छन् । अहिले मनसुन लागेसँगै राजधानीका सडक हिलाम्मे छन् ।
नख्खु– भैंसेपाटी, चाबहिल–कलंकी, चाबहिल–जोरपाटी लगायतका सडकमा वर्षायाममा हिँडि नसक्नु हुन्छ । कतिपयले यी माथि उल्लेखित सडकलाई ज्यानमारा सडकको नाम दिएका छन् । अव्यवस्थित सडक निर्माणका कारण ठाउँ ठाउँमा ढल राख्दा जोखिम त निम्त्याएको छ नै साथमा केहीले ज्यानसमेत गुमाइसकेका छन् । यस बारेमा सरकार अझै गम्भीर नबन्ने हो भने नागरिकले ज्यान जोखिममा हालेर हिँड्नुको अर्को विकल्प छैन ।
तस्विर सौजन्य : न्यूज एजेन्सी नेपाल

