नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ जेठ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र सहरी विकासमन्त्री रामकुमारी झाँक्रको फोहाेर व्यवस्थापनका लागि लिएका पहलकदमी प्रंशसनीय रहेको बताएका छन् ।
त्यस्तै थापाले काठमाडौंको फोहोरको संकट आउन नदिन ६ बुँदे सुझाव प्रस्तुत गरेका छन् । आज (आइतबार) सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै थापाले काठमाडौंको फोहोरको संकट आउन नदिन ६ बुँदे सुझाव प्रस्तुत गरेका हुन् । आजैबाट, आआफ्नो जिम्मामा परेका काम गर्दै काठमाडौ फोहोरको संकटबाट मुक्त हुने थापाको भनाइ छ ।
‘संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजिकरण समेत गर्न काठमाडौं,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजिकरण समिति प्रस्तावित गरेका छौं। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहिँ अफ्ट्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ’ थापाले फेसबुकमा लेखेका छन् ।
यस्ता छन् थापाका ६ बुँदे सुझावहरू
१.शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो। हरेक पटक सङ्कट परे पछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन। त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ । यो स्वभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सिमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ ।
२.यसका लागि संघीय सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न शहरी विकास मन्त्रालय को निरन्तर तदारुकता जरुरी छ। सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ। ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ। खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ । कानुन बमोजिम तोकिएपछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ।
३.संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरणसमेत गर्न काठमाडौं,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौं। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहिँ अफ्ट्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ ।
४.काठमाडौँ महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ । कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले काठमाडौँ महानगरलाई सम्पूर्ण साथ दिनुपर्छ ।
५.फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि काठमाडौँ महानगरसँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ ।
६.कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ। सम्पूर्ण महानगरबासीले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ। कामनपाका सबै वडाले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो बडाभित्र नगरवासीलाई सु-सुचित गर्ने लगायत को सम्पूर्ण तयारी गर्नुपर्छ ।
यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ-आफ्नो जिम्मामा परेका काम गर्दै गयौं भने फेरी १७६ औं पटक सम्झौता गर्नुपर्ने अवस्था आउदैन। काठमाडौ फोहोरको संकटबाट मुक्त हुन्छ।
