आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज ​सुनुवाइ हुँदै, के आउँला निर्णय ?

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिटको सुनुवाई हुँदैछ । आज (सोमबार ) सर्वोच्च अदालतले मुद्दाकाे सुनुवाइ आजको लागि लागि तोकेको हो ।

सुनुवाइको पेशी सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।



यसअघि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको थियो । जेठ १७ मा एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की समेतले दायर गरेको रिट लगाउमा राखेर न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेशी तोकिएको थियो । तर हालका महानिरीक्षक रहेका धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रविन्द्र बहादुर धानुकको नाममा म्याद तामेल हुन सकेको थिएन ।

सर्वोच्चले बसन्त कुमार पन्त कैलालीमा रहेको र अन्य प्रत्यर्थीहरु प्रहरीको उच्च पदमा रहेका कारण प्रहरी प्रधान कार्यालयको सहयोग लिई म्याद तामेल गर्न आदेश दिइएको थियो । त्यस्तै गत चैत १७ गते डीआईजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्कीले एआइजी बढुवाको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश श्रेष्ठ र चुडाल सम्मिलित इजलासले जेठ ३० मा मुद्दाको अन्तिम सुनुवाई गर्न पेशी तोकेका थिए । आज प्रहरी अतिरिक्त महानिरीक्षक बढुवाका विषयमा परेको रिट र प्रहरी महानिरीक्षक बढुवाको विषयमा परेको रिटलाई सँगै राखेर सुनुवाई हुनेछ ।

सम्बन्धित समाचार