नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ जेठ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध पछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज (मंगलबार) को बैठकमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।
एमालेको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका छन् । त्यस्तै भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नसक्ने बताए ।
एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेको हो । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका थिए । आजको बैठक प्रारम्भ हुने बित्तिकै भट्टराईले बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेहरुसँग साँठगाँठ गरी करका दरहरुमा तलमाथि पारिएको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।