नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार ।
पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले निहारिका राजपुतलाई न्याय दिन माग गरेको छिन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
उनले काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गर्दै बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरी छ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । तर, राज्य उनको माग पुरा गर्नुको साटो थाहा नपाए जसरी बसेको उनको भनाइ छ । ‘राज्यले थाहा नपाएजस्तो गरेको छ । कानमा तेल हालेर बसेको छ।’
विसं २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि धनुषाको भीमेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको आरोप छ। उनी आफूमाथि बलात्कार गर्ने श्रेष्ठलाई अदालतले सफाइ दिएको भन्दै न्यायको माग गरी अनशन बस्दै आएकी छन् ।
सांसद थापाले भनिन्, ‘सडकमा न्यायको माग गर्दै निहारिका छ दिनदेखि अनशन बस्दै आउनुभएको छ, बलात्कारपछि राज्यका सबै तहमा न्यायको भिख मागिरहनुभएको छ, तर सरकारको ध्यान पुग्न सकेको छैन, सो घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।’
अनशनरत निहारिका आफ्ना ११ महिने बच्चाको डिएनए परीक्षण गर्नुपर्ने, चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने लगायतका माग राखेर अनशन बसेकी हुन् । जिल्ला अदालत धनुषाले उनीमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो। सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ ।
सांसद थापाले महिला हिंसा, हत्या र बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै गएको बताउँदै कानुन कार्यान्वयन गरी दोषीमाथि कडा कारबाहीको माग गरिन्।