लिङदेनने एमसीसीले एसपीपीसँगै धेरै कुरा ल्याउने रहेछ भनेपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण अहिले देशमा समस्या आएका बताएको छ । आज (बुधबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले यस्तो बताएका हुन् ।

उनले बहुमतको बलमा एमसीसी पास गरिएको भन्दै एमसीसीका कारण अहिले देशमा समस्या भइसकेको जिकिर गरे । लिङदेनले परराष्ट्र नीतिमा असन्तुलन हुने कार्य हुन नदिन स्वतन्त्र सरकार गठन गर्नपर्ने आवश्यकता रहेको दाबी गरे । लिङ्देनले भने, ‘सडक कालोपत्रे र प्रसारण लाइनसँगै अरु धेरै चिज एमसीसीले ल्याउने रहेछ ।’



त्यस्तै उनले राष्ट्रिय आवश्यकता र सहमतिभन्दा बहुमतमा निर्णय लिने प्रवृति मौलाएको बताए । ‘विगतका गल्तीहरू सरकारले किन लगातार दोहोर्याइरहेको छ ।’ देशमा कुनै पनि संकट आउन नदिने गरी सरकार बस्नुपर्नेमा विवादास्पद र अफ्ठ्यारो पार्ने गरी किन अघि बढ्छ भन्दै लिङ्देनले सरकारलाई प्रश्न गरे ।’ उनले भने ‘एमसीसी पास गरेपछि अहिले एसपीपी आएको, अरु कुरा के-के आउँछन् देखिँदै जानेछन् ।’ देशमाथि सङ्कट आइलाग्ने गरी कुनै पनि वैदेशिक सम्झौता नगर्नसमेत माग गरे ।

सम्बन्धित समाचार