नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असार ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार कीभ पुगेका छन् ।
नेताहरू पोल्याण्डबाट विशेष ट्रेन चढेर त्यहाँ पुगेको तस्बिर एएफपीले सार्वजनिक गरेको छ । तस्बिरमा उनीहरूलाई युक्रेनी राजधानीको प्लेटफर्ममा ओर्लिरहेको देखाइएको छ। शक्तिराष्ट्रका नेताहरूको यस किसिमको युक्रेनको सामूहिक भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणपछिको पहिलो हो ।
म्याक्रोनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने र ‘नरसंहार भएको युद्धस्थलमा जाने’ बताएका छन् । त्यस्तै फ्रान्सेली नेताले कीभ नजिकका शहरहरूमा जारी रुसी अत्याचारलाई ‘युद्ध अपराध’ भनेका छन् । ‘यो युक्रेनी पुरुष र महिलाहरूलाई सम्बोधन गरिएको युरोपेली एकताको सन्देश हो’ म्याक्रोनले ट्रेनबाट ओर्लँदै भने।
उनले भने– वर्तमान र भविष्य दुबैको बारेमा कुरा गर्न आफूहरू त्यहाँ पुगेको तर त्यो विषय धेरै गाह्रो हुनेछ । युक्रेनले युरोपेली संघमा सामेल हुन आधिकारिक उम्मेदवारको हैसियत दिन दबाब दिइरहेको बेला यो भ्रमण भएको हो । तीनै जना नेताहरूले बिहीबार बिहान पोल्याण्डबाट कीभका लागि विशेष ट्रेनमा यात्रा गरेका थिए ।
जर्मन मिडियाले उनीहरूलाई पोल्याण्डको दक्षिण–पूर्वी शहर रजेस्जोमा ‘रातमा’ भेटेको बताएको छ जहाँ अन्तरराष्ट्रिय विमानस्थल छ । फ्रान्सेली नेताले भर्खरै युक्रेनको छिमेकी राष्ट्र मोल्डोभाको भ्रमण पूरा गरेका थिए । रोमानियाका नेता क्लाउस इओहानिस बिहीबारपछि कीभमा आफ्ना फ्रान्सेली, जर्मन र इटालियन समकक्षीहरूसँग सामेल हुन लागेका छन् । अन्य पश्चिमी नेताहरूले पनि हालैका हप्ताहरूमा कीभको भ्रमण गरेका छन् ।