नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।
नेकपा एमालेका नेता डा भीम रावलले एसपीपीका सम्बन्धमा सरकारले स्पष्ट पार्नुपर्ने बताउँदै यसमा नेपाल आबद्ध नहुने भनी नेपाल सरकारले अमेरिकालाई पत्र लेख्नुपर्ने बताए । आज (शुक्रबार) संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य तथा पूर्वरक्षामन्त्री समेत रहेका रावलले यस सम्बन्धमा आवश्यक अध्ययन र छानविन गर्न समिति गठन गर्नुपर्ने मागसमेत गरे । उनले परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी सम्झौताको विषयमा गरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।
खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति दिएको रावलले बताए । ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु’ रावलले भने ।
बैठकमा खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भएको भन्दै अब बहस आवश्यक नभएको र नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको बताएका थिए ।