नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असार ।
अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली श्रीलंकाले जितेको छ । मंगलबार राति भएको चौथों एकदिवसीय खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले पराजित गर्दै पाँच खेलको सिरिज एक खेल अगावै ३-१ ले जितेको हो ।
कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २५८ रन बनाएको थियो । श्रीलंकाका लागि चारिथ असलन्काले १ सय १० रनको शतकीय पारी खेले भने धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय पारी खेले । अष्ट्रेलियाका लागि मिचेल मार्श, कुहनेमन म्याथ्यु र प्याट कमिन्सले समान २-२ विकेट लिए भने ग्लेन म्याक्स्वेलको भागमा १ विकेट रह्यो ।
२५९ रनको लक्ष्य लिएर मैदान उत्रेकोअष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रन मात्र बनाउन सक्यो ।अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै प्याट कमिन्स ३५ रन बनाई आउट भए भने टार्भिस हेडले २७ र मिचेल मार्शले २६ रन बनाए । श्रीलंकाका लागि धनन्जय सिल्भा, जेफ्री भान्डरसे र चामिका करुनारत्नेले समान २-२ विकेट लिए । जितसँगै घरेलु भूमिमा श्रीलंकाले २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो ।