नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असार ।
अष्ट्रेलियाले घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम तथा पाँचौं एकदिवसीय क्रिकेटमा जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । यद्यपि श्रीलंकाले यसअघि नै सिरिज ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो ।
शुक्रबारको खेलसँगै सिरिज ३-२ मा सकिएको हो । कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा अलआउट हुँदै १६० रनमा समेटिएको थियो । श्रीलंकाका लागि चामिका करुनारत्नेले ७५ रनको अर्धशतकीय पारी खेले भने कुशल मेन्डीसले २६ रन बनाए । त्यस्तै प्रमोद मधुसन १५ रन बनाई आउट भए भने चारिथ असलंकाले १४ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । अष्ट्रेलियाका लागि जोश हाजलउड, म्याथ्यु कुह्नेमन र प्याट कमिन्सले समान २-२ विकेट लिए भने क्यामरुन ग्रीन र ग्लेन म्याक्स्वेलको भागमा समान १-१ विकेट रह्यो ।
१६१ रनको लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका लागि एलेक्स केरीले अविजित रहँदै ४५ रन बनाए भने मार्नुस लाबुसेनले ३१ रन जोड्दा क्यामरुन ग्रीन २५ रनमा अविजित रहे । श्रीलंकाका लागि दिनुथ वेलअल्लेगले ३ विकेट लिए भने महिस थिकसनाको भागमा २ विकेट रह्यो । घरेलु भूमिमा श्रीलंकाले २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो ।